फाइल तस्वीर
काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल ट्वान्टी–२० क्रिकेट लिगको फ्रेन्चाइज टोली किन्न टेण्डर आह्वान गरेको छ । यसैवर्ष आगामी असोज महिनामा आयोजना गर्ने नेपाल ट्वान्टी–२० क्रिकेट लिगको फ्रेन्चाइज टोली किन्न टेण्डर आह्वान गरेको हो ।

क्यानले आज बिहान ९ बजेदेखि टेण्डर खुला भएको बताएको छ । लिगको फ्रेन्चाइज टोली किन्न चाहने इच्छुकहरूलाई यही जेठ २७ गते शुक्रबार बेलुका ५ बजेसम्म टेण्डर हाल्न पाउने समय निर्धारण गरेको छ ।

क्यानले जारी गरेको सूचनामा टेण्डर प्रक्रिया जुनसुकै कारण देखाएर संशोधन तथा खारेज गर्न पाउने अधिकार आफूमा निहित रहेको जनाएको छ । क्यानले रणनीतिक र व्यापारिक साझेदारीका रूपमा भारतीय कम्पनी सेभेन थ्री स्पोटर््सलाई चुनिसकेको छ ।

नेपाल ट्वान्टी–२० क्रिकेट लिग प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म तालिका छ । त्यसका लागि क्यानले जेठ १० को बोर्ड बैठकबाट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने ६ टोलीको नामको टुङ्गो समेत लगाइसकेको छ । जसअनुसार विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी÷भैरहवा, फार वेस्टर्न टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।