फाइल तस्वीर
ललितपुर– साझा यातायातले राजधानीका सडकमा विद्युतीय बस सेवा सञ्चालन गर्ने भएको छ । साझा यातायातले चीनमा निर्मित विद्युतीय बसहरुको परीक्षण गरी छिटै व्यवसायिक सेवा सञ्चालन लागेको हो । साझाले विद्युतीय बस सञ्चालनका लागि आवश्यक तयारी भैरहेको बताएको छ ।

व्यवसायीक सेवा सञ्चालनपूर्व साझाले ती बसहरुलाई राजधानीका सडकमा चलाएर परीक्षण गरेको छ । व्यवसायिक रुपमा विद्युतीय बस सेवा सञ्चालनका लागि एक साता अघि साझाले तीनवटा बस रात्रीकालिन समयमा सडकको अवस्था परीक्षण सुरु गरेको छ । बसमा जडिट ब्याट्रीले काडमाडौं उपत्यकाका सडकमा बस सञ्चालन गर्दा कति माइलेज दिन सक्छ, ब्याट्रिको खपत कति समयसम्म हुन्छ, उपत्यकाको सडक सञ्जालको अवस्था अनुसार व्यवसायिक सेवा सञ्चालन गर्न कत्तिको सहज हुन्छ, सडकमा खाल्डा खुल्डी भएको अवस्थामा बसको ग्राउण्ड क्लियरेन्समा कुनै असर पर्छ या पर्दैन जस्ता कुराहरुलाई हेर्न साझाले राजधानीका सडकमा गुडाएर परीक्षण गरेको छ ।

साझाले विद्युतीय बस सेवा सञ्चालन गर्न तीन वटा बस खरिद गरेर परीक्षण गरेको हो । सडकको अवस्था हेरेर परीक्षणको रिपोर्ट आएपछि थप अध्यन गरेर बाँकी ३७ वटा गरी पहिलो चरणमा जम्मा ४० वटा विद्युतीय वस सञ्चालन गर्ने तयारीमा साझा यातायात रहेको छ । साझाले वातावरणमैत्री सवारीसाधन सञ्चालन गर्ने लक्षसँगै तीन महिनाभित्र विद्युतीय बस ल्याई सक्ने जनाएको छ । साझाले खरिद गर्न लागेको विद्युतीय प्रतिबसको मूल्य करबाहेक एक करोड पाँच लाख पर्ने जनाएको छ ।

सरकारलाई तिर्नु पर्ने मूल्य अभिवृद्धि कर (भ्याट) का साथै अन्य कर, बसमा जडित ब्याट्री चार्ज गर्ने स्टेशनको निर्माण, पाँच वर्षको मर्मत खर्च गरी प्रतिबस एक करोड ५२ लाख लाग्ने साझाले जनाएको छ । बस एकपटक ब्याट्री चार्ज गर्दा दुई सय किलोमिटर गुड्नेछ भने बसमा १६१ किलोवाट पर आवरको ब्याट्री जडान भएकाले चार्ज गर्न चार घण्टा लाग्नेछ । दीर्घकालिन रुपले हेर्दा विद्युतीय बसको मर्मतसंहार खर्च डिजलबाट चल्ने बसकोभन्दा तीन गुणा सस्तो पर्ने साझाको निष्कर्ष छ ।

सरकारले साझामा तीन अर्ब रुपैयाँ सेयर लगानी गरेको छ । देशमा बढ्दो विद्युत उत्पादनलाई स्वदेशमा खपत गरी विद्युतीय उपकरण प्रयोग गर्न सरकारले विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता देखिन्छ । नेपालमा उत्पादित विद्युत विना पूर्वाधान निर्यात गर्न सक्ने अवस्था देखिंदैन । प्रसारण लाइन नै मुख्य समस्या छ ।

विश्वव्यापी रुपमा बढ्दो पेट्रोलियम पदार्थको खपतलगायत विविध कारणले जलवायु परिवर्तनको समस्या चुलिंदै गएको छ । यही कुरालाई मध्यनगर गर्दै विश्वव्यापी रुपमै सन् २०३० सम्ममा इन्धनबाट गुड्ने सवारीसाधनहरुलाई विस्थापित गरी विद्युतीय सवारीसाधन प्रयोगमा जुन खालको नीति बनेको छ, त्यसमा नेपालले पनि पूर्ण समर्थन जनाइसकेको छ ।

विगतमा साझा यातायातको अस्तित्व नै मेट्ने काम भएका थिए । साझाको महत्व, यसको आवश्यकतालाई ध्यान दिंदै पुनः साझा अस्तित्वमा देखिन थाल्यो । साझाले अहिले राजधानीमा हाल ७१ वटा डिजलबाट चल्ने बसबाट सेवा दिँदै आएको छ । डिजेलको मूल्यमा भएको भारी वृद्धिले यातायात सञ्चालनको खर्च बढ्न जाँदा बस भाडामा समेत वृद्धि भएकाले यात्रुहरु मर्कामा पर्ने गरेका छन् । नेपालमा करिब डेढ खर्ब रुपैयाँ बराबरको डिजेल मात्रै खपत हुने गरेको छ । यसले नेपालको व्यापारघाटा बढाउन मद्दत गरेको छ ।

अर्कोतिर नेपालमा विद्युत उत्पादन पनि बढ्दो छ । उत्पादित विद्युतलाई स्वदेशमा खपत गर्न विद्युतीय यातायातहरु सञ्चालनमा ल्याउन सके नेपालले वर्षेनी पेट्रोलिम पदार्थ (डिजेल, पेट्रोल, मट्टितले र ग्यास) जस्ता आयात गर्नुपर्ने वस्तुलाई प्रतिस्थापन गर्न सकिन्छ । यसबाट देशले वर्षेनी व्यहोर्दै आएको व्यापार घाटालाई न्यूनीकरण गर्न ठूलो योगदन पुग्न सक्दछ ।