ललितपुर – ललितपुर महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख चिरिबाबु महर्जनले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले नगर प्रमुख महर्जनलाई आज बुधबार पद तथा गोपनीयता शपथ गराउनु भएको हो ।

ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर महर्जनसँगै एमालेबाट उपमेयरमा निर्वाचित मञ्जली शाक्यले पनि आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

अघिल्लो पटक पनि महानगर प्रमुखको जिम्मेवारी सम्हालिसक्नु भएका मेयर महर्जनले एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई १८ हजारको फराकिलो मतान्तरले हराउँदै दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभएको हो । नवनिर्वाचित मेयर महर्जनले ४२ हजार ७२२ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेका व्यञ्जनकारले २४ हजार ५६० मत ल्याएर पराजित हुनुभएको हो ।

अघिल्लो पटक २०७४ मा भएको निर्वाचनमा पनि एमालेकै उम्मेदवार व्यञ्जनकारलाई नै पराजित गर्दै महर्जन मेयर बन्नु भएको थियो ।