काठमाडौं – नेपाल क्रिकेट सङ्घले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक वृद्धि गरेको छ । क्यान कार्यसमितिको बैठकले हिजो गरेको निर्णयअनुसार पुरुष राष्ट्रिय टोलीमा रहेका तीनै ग्रेडका खेलाडीको मासिक पारिश्रमिक १० हजारका दरले बढेको छ ।

सन् २०१७ देखि क्यानले राष्ट्रिय टोलीका खेलाडीलाई तीन समूहमा वर्गीकरण गरी केन्द्रीय अनुसन्धानको व्यवस्था सुरु गरेको थियो । सुरुमा ए बी र सी ग्रेडका खेलाडीले क्रमसः २५, १५ र १० हजार पारिश्रमिक दिइएको थियो । समयअनुसार पारिश्रमिक बढाउँदै लगेको क्यानको पछिल्लो निर्णयपछि नेपाली टोलीका ए ग्रेडका खेलाडीको पारिश्रमिक ६० हजार पुगेको छ । बी र सी ग्रेडका खेलाडीले क्रमसः ५० र ४० हजार रुपैयाँ पाउँछन् ।

यस्तै महिला क्रिकेट टोलीका खेलाडीको पनि पारिश्रमिक बढाइएको छ । ए र बी ग्रेडका खेलाडीको पारिश्रमिक मासिक ६ हजारका दरले वृद्धि गरिएको छ । सी ग्रेडका खेलाडीको ५ हजारका दरले बढेको छ । नयाँ पारिश्रमिकअनुसार ए ग्रेडका महिला खेलाडीले मासिक २१ हजार, बी र सी ग्रेडका खेलाडीले क्रमसः १८ र १५ हजार रुपैयाँ पारिश्रमिक पाउँछन् ।

क्यानले क्यालेन्डर वर्षमा गरेको प्रदर्शनका आधारमा खेलाडीको वर्गीकरण गरी पारिश्रमिक उपलब्ध गराउँदै आएको छ । क्यानले क्रिकेट मैदान कर्मचारीको पारिश्रमिक पनि मासिक ३ हजारका दरले बढाएको छ । मैदान कार्यालय सहयोगी र मैदान पीच क्यूरेटरको पारिश्रमिक पनि क्रमसः ५ र ६ हजारका दरले वृद्धि गरेको छ ।