फाइल तस्वीर

टेक्सस – अमेरिकाको टेक्सस राज्यस्थित एक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा शिक्षकसहित कम्तीमा २१ जनाको ज्यान गएको छ । सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्ने टेक्सासको युभाल्ड सहरस्थित इलेमेन्टरी स्कुलमा पसेर एक १८ वर्षिय किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ जनाको ज्यान गएको समाचार संस्था एपीले जनाएको छ ।

टेक्सासको सार्वजनिक सुरक्षा विभागका अधिकारीका अनुसार अन्धाधुन्ध गोली चलाउने १८ वर्षीय किशोर पनि घटनामा मारिएका छन् । राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पेस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन् । दक्षिणी टेक्साको युभाल्डस्थित रब इलेमेन्टरी स्कुलमा पसेर ती किशोरले बालबालिकाहरुमाथि अन्धाधुन्ध राइफल चलाएका थिए । रब एलिमेन्ट्री स्कूलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानी हत्या गरेको समेत एपीले जनाएको छ ।

राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् । उक्त विद्यालयमा झन्डै ५०० बालबालिका भर्ना भएको बताइएको छ । अधिकारीहरूका अनुसार घटनामा मृत्यु हुनेहरूको सङ्ख्या बढ्नसक्ने देखिएको छ । अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारीसले यस्ता गोलीकाण्ड नदोहोरिउन् भनेर सुनिश्चित गर्नका लागि उनकै शब्दमा उचित र समझदारीपूर्ण नीति बनाउन आह्वान गरेकी छन् । –एपी