फाइल तस्वीर
कास्की – पोखरा महानगरपालिकाको प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) एवम् सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्य विजयी हुनुभएको छ । आचार्य एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले पछिपार्दै पोखरा महानगरपालिकाको मेयरमा पाँच वर्षे कार्यकालका लागि चुनिनु भएको हो ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत भएको निर्वाचनको मतगणनाको काम आज बिहानमात्रै सकिएपछि मेयर पदमा आचार्य निर्वाचित भएको घोषणा भएको हो ।

पोखरा महानगरपालिकाको मेयरमा निर्वाचित आचार्यले कुल ५८ हजार ८९३ मत ल्याउँदा उहाँका निकटम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५२ हजार ८४८ प्राप्त गरेर पराजित हुनुभयो ।

यसैगरी उक्त महानगरपालिकाको उपमेयरमा भने एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ । नेपाली काङ्ग्रेबाट गठबन्धनको उम्मेदवार बन्नुभएकी कोपिला रानाभाटलाई पछिपार्दै गुरुङ उपमेयरमा निर्वाचित हुनुभएको हो । उपमेयरमा निर्वाचित मञ्जुदेवी गुरुङले ६० हजार ५४६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटम प्रतिस्पर्धी रानाभाटले ५६ हजार ६६३ मत प्राप्त गर्नुभएको छ ।