फाइल तस्वीर
चितवन – भरतपुर महानगरपालिकाको नगरप्रमुखमा विजयी भएपछि रेणु दाहालले आफ्नो अघिल्लो कार्यकालमा थालनी गरेका बाँकी कामहरुलाई पूरा गर्ने र महानगरवासीहरुको काम गर्न निरन्तर खटिने बताउनु भएको छ ।

आगामी पाँच वर्षको लागि मेयरमा निर्वाचित भएपछि पत्रकारहरुसँग संक्षिप्तकुरा गर्दै नवनिर्वाचित मेयर रेणुले भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

आफुले महानगरको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर तथा ढल व्यवस्थापनमा जोड दिने बताउँदै ‘आफूले विगतमा गरेका कामको भरतपुर महानगरवासीले अनुमोदन गरिदिएकोले आगामी दिनमा आफुले दिनसक्ने योगदानमा कमी आउन नदिने र जनतालाई निराश नपार्ने दावीसमेत गर्नुभएको छ ।

गठबन्धन भित्रै चुनौती भएतापनि भरतपुरमा गठबन्धनमा रहेका दलहरु इमान्दार भएको बताउँदै दोस्रो कार्यकालका लागि नवनिर्वाचित मेयर दाहालले भन्नुभयो– ‘रेणु दाहाल हराउनकै लागि विपक्षीहरुले ठूला योजना बुने तापनि भरतपुरमा त्यो योजना सफलन हुन सकेन । हामी अब मतदाताले दिएको जिम्मेवारी पूरा गर्न लाग्ने छौ ।ं’ देशको लागि यतिबेला पाँच दलीय गठबन्धनको आवश्यकता भएकोले लामो समयसम्म गठबन्धन टिक्ने उहाँको जिकिर थियो ।

यसैगरी भरतपुर महानगरपालिकाको उपमेयरमा चुनिनुभएका चित्रसेन अधिकारीले निर्वाचन जित्न चुनौतीको विषय स्वभाविक भएको भन्दै आफु भरतपुर महानगरपालिकाको चौतर्फी विकासका लागि नगर उपप्रमुखको रुपमा सहयोगी भूमिका निर्वाह गर्ने बताउनु भएको छ ।