चितवन – भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारको विजयी भएको छ । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल र उपप्रमुखमा नेपाली काङ्ग्रेसका चित्रसेन अधिकारी विजयी हुनुभएको हो । महानगर प्रमुख दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतान्तरले पराजित गर्नुभएको हो ।

दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५ सय ८१ मत प्राप्त गर्नुभएको छ । यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत प्राप्त गर्नुभयो । दाहाल वि.सं. २०७४ को स्थानीय तहको निर्वाचनमा समेत महानगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । भरतपुर महानगरपालिकाको उपप्रमुखमा गठबन्धनबाट काङ्ग्रेसका अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङलाई २२ हजार १९१ मतान्तरले पराजित गर्नुभएको छ । अधिकारीले ५२ हजार ८ सय ३ मत प्राप्त गर्दा गुरुङले ३० हजार ६ सय १२ मत प्राप्त गर्नुभएको छ ।

भरतपुर महानगरपालिकाको २९ वडामा कुल एक लाख २७ हजार ८ सय ३९ मत खसेको थियो । महानगरको २९ वडामध्ये वडा नं १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९ मा नेपाली काङ्ग्रेस, वडा नं ३, ११, १२, १८, १९ र २८मा नेकपा एमाले र १३, २४ र २६ मा माओवादी केन्द्रले विजयी हाँसिल गरेको छ । यसैगरी वडा नं ९ र २२ मा नेकपा (एकीकृत समाजवादी)ले विजय हाँसिल गरेको छ भने वडा नं २५ मा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ ।