फाइल तस्वीर
मकवानपुर – हेटौंडा उपमहानगरपालिकाको नवनिर्वाचित मेयर मीनाकुमारी लामाले पदभार ग्रहण गर्दै नगरभित्रका अति विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने पहिलो जनमुखी निर्णय गर्नुभएको छ । नगरक्षेत्रभित्रका एक हजार ५ सय ४१ अति विपन्न परिवारको स्वास्थ्यलाई ध्यानदिंदै निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्नुभएको हो ।

हेटौंडा उपमहानगरपालिकाकी नवनिर्वाचित नगरप्रमुख लामाले आज सोमबार पदभार ग्रहण गर्दै स्वास्थ्य बीमालगायत पाँचवटा निर्णय गर्नुभएको छ । नगरप्रमुख लामाले विपन्न ती घरपरिवारलाई जीवन यापन गर्न सहज होस् भन्ने अभिप्रायले मासिक १५ हजार लिटर पानी र २५ युनिट विद्युत निःशुल्क उपलव्ध गराउने समेत निर्णय गर्नुभएको छ ।

मेयर लामाले आर्थिक दुरावस्थाको कारण विद्यालय जान बञ्चित बालबालिकालाई शिक्षा आर्जन गर्न प्रोत्साहन र सहुलियत दिन मेयर छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने, सडक विस्तारका क्रममा सडकको बीच भागमा परेका विद्युतका पोल हटाई छेउ किनारामा स्थापना गर्ने निर्णय पनि गर्नुभएको छ । महिला जागरण समूहमार्फत् लैंगिक हिंसाविरुद्धका अभियान सञ्चालन गर्दै पीडित र प्रभावित महिला तथा बालबालिकालाई अल्पकालिन आश्रयस्थलमार्फत् प्रभावकारी रुपमा पुनस्र्थापनाका कामहरु सञ्चालन गर्ने निर्णय भएको हेटौंडा उपमहानगरपालिकाले बताएको छ ।