फाइल तस्वीर
मोरङ – धरान नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर बाजिमारेमा हर्कराज राई साम्पाङले धरान उपमहानगरपालिकाको पद तथा गोपनीयताको शपथ लिनुभएको छ । जिल्ला निर्वाचन अधिकृत कैलाश सुवेदीले आज सोमबार नवनिर्वाचित मेयरलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएको हो ।

स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुनुभएका नवनिर्वाचित मेयर साम्पाङ शपथग्रहण कार्यक्रममा स्टकोटसहित नेपाली दौरासुरुवालमा उपस्थित हुनुभएको थियो । जिल्ला निर्वाचन अधिकृतको कार्यालय इनरुवामा शपथग्रहण कार्यक्रम सकेलगत्तै मेयर साम्पाङ धरान नगरपालिकाको कार्यालयमा पुग्नुभयो ।

नवनिर्वाचित मेयर साम्पाङले आजै धरानस्थित पब्लिक हाइस्कुलमा धरान नगरपालिकाका २० वटै वडाका विजयी अध्यक्ष उपाध्यक्षलगायतका पदाधिकारीलाई शपथ गराउनु भयो । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम नजिता हिजो आइतबार सार्वजनिक गरिंदा मेयर पदका उम्मेदवार साम्पाङले २० हजार ८ सय २१ मत ल्याएर विजयी हुनुभएको हो ।

नवनिर्वाचिन मेयर साम्पाङले धरान नगरपालिका क्षेत्रको खानेपानीदेखि सुकुम्बासी समस्या, स्वास्थ्य क्षेत्रको बेथिति, सुशासन कायमलगायतका कुराहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्दै आउनु भएको छ ।

निर्वाचनको प्रचार प्रसारको क्रममा कुनै तामझाम नगरी आफैं एक्लै जनतासँग भोट माग्दै हिंड्नु भएका साम्पाङलाई धरानवासीले मत दिएर जिताएका छन् । कम्युनिस्टको लालकिल्ला मानिएको धरानमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन जित्नुभएका साम्पाङको कार्यशैलीले धरानवासीका समस्या समाधान मतदाताहरु ढुक्क देखिन्छन् ।