फाइल तस्वीर
तनहुँ – तनहुँको व्यास नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काङग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा वैकुण्ठ न्यौपाने र उपमेयरमा इन्दिरा दरै विजयी हुनुभएको हो ।

निकै प्रतिस्पर्धात्मक रुपमा भएको व्यास नगरपालिकाको निर्वाचनमा मेयरमा विजयी न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरेर जित्नु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८ सय २६ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेको समर्थन रहेका दीपकराजको पक्षमा करिब एक हजार मत भने बदर भएको थियो ।
उपप्रमुखमा पनि काङ्ग्रेसकै इन्दिरा दरैले १३ हजार ४ सय ९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी वसुन्धरा घर्तीले १० हजार ४२ मत पाएकी छन् ।

व्यासको मेयरमा न्यौपाने दोस्रो कार्यकालका लागि पुनः जित निकाल्नु भएको छ । अघिल्लो निर्वाचनमा न्यौपानेले नेकपा एमालेका उम्मेदवार शंकरनारायण श्रेष्ठलाई ३ हजार ४६४ मत अन्तरले पराजित गर्नुभएको थिए ।
व्यास नगरपालिकामा रहेका १४ वडामध्ये ११ वडामा नेपाली काङ्ग्रेसले जितेको छ भने बाँकी तीनमा नेकपा एमालेले वडा अध्यक्षमा जितेको छ । नेकपा माओवादीले व्यास नगरपालिकामा प्रतिनिधित्व समेत गर्न सकेन ।