फाइल तस्वीर
काठमाडौं – सरकारले विद्युतीय राहदान (ई–पासपोर्ट) वितरण गरेर २ अर्ब ६७ करोड ९५ लाख ६ हजार दुई सय ३१ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत मङ्सिर १ गतेबाट वितरण गर्न सुरु गरिएको विद्युतीय राहदानी अहिलेसम्म २ लाख ७४ हजार ७ सय ४ थान वितरण भएको छ राहदानी विभागले जनाएको छ ।

विभागले पहिलो विद्युतीय राहदानी इतिहासविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीलाई हस्तान्तरण गरी औपचारिक रूपमा ई–पासपोर्ट वितरण गर्ने कार्य प्रारम्भ गरेको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार, अहिले ६९ जिल्ला प्रशासन कार्यालय, १५ ईलाका प्रशासन कार्यालय र २६ कूटनीतिक नियोगहरूबाट ई–पासपोर्ट जारी भैरहेको छ । विद्युतीय राहदानी वितरणलाई सहजीकरण गर्न विभागले बाँकी जिल्ला प्रशासन कार्यालय र नियोगहरूमा उपकरण जडान गरी सेवा प्रवाह शुरु गर्ने तयारी गरेको छ ।

पासपोर्ट लिनका लागि तिनुपर्ने राजस्व सेवाग्राहीले सजिलैसँग तिर्न सकुन भन्ने अभिप्रायले अनलाइनबाट बुझाउन सकिने व्यवस्था गरिएको विभागले जनाएको छ । सेवा प्रवाहलाई चुस्त बनाउन मोबाइल एमको निर्माण गर्नुको सार्थ विद्यमान सफ्टवेयर प्रणालीलाई सुधार गर्ने काम समेत भैरहेको विभागको भनाइ छ ।