काठमाडौं – नेपालको तीन दिने भ्रमणमा आउनु भएकी अमेरिकी नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेको छ ।
सोही अवसरमा प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा आफुलाई खुसी लागेको धारणा व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी परियोजना)को बारेमा समेत छलफल भएको बताइएको छ ।

तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहनु भएकी उपविदेशमन्त्री जिया तीन दिने भ्रमणका क्रममा शुक्रबार नेपाल आउनु भएको थियो । अमेरिकी उपविदेशमन्त्री जिया भारतहुँदै नेपाल आउनु भएको हो । उहाँ आज स्वदेश फर्कने कार्यक्रम रहेको छ ।