फाइल तस्वीर
चितवन । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकाको मतगणनाको काम जारी छ । भरतपुर महानगरपालिकामा अहिलेसम्म ८९ हजार ७७५ मत गणना हुँदा मेयर पदमा उठ्नुभएकी माओवादी केन्द्रकी रेणु दाहालले ७ हजार भन्दा बढी मतको अग्रता बनाउनु भएको छ ।

प्राप्त मत परिणाम अनुसार रेणु दाहालले ३५ हजार २३० पाउँदा एमालेका उम्मेदवार विजय सुवेदीले २७ हजार ७६५ मत प्राप्त गर्नुभएको छ । यी दुई मेयर पदका प्रत्यासीबीचको मत अन्तर ७ हजार ४६५ छ । स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार ८५२ मत प्राप्त गर्नुभएको छ । गठबन्धनको विपक्षमा रहेको नेपाली काङ्ग्रेसको असन्तुष्ट पक्षको मत पौडेलको पक्षमा परेको छ ।

मतगणनाको सुरुवाती चरणमा रेणु दाहाल र विजय सुवेदीबीच कडा प्रतिस्पर्धा हुने सङ्केत देखिए पनि निवर्तमान मेयर तथा गठबन्धनकी उम्मेदवार दाहाल र एमालेका सुवेदीबीचको मतान्तर फराकिलो बन्दै गएको छ । नेकपा एमालेले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गर्दै मेयर एमाले र उपमेयरमा राप्रपाले उम्मेदवारी दिएको थियो ।

सत्ता गठबन्धनको तर्फबाट उपप्रमुख पदमा उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका चित्रसेन अधिकारी राप्राकी हिमला गुरुङको भन्दा फराकिलो मत अन्तरले अगाडि हुनुहुन्छ । एमाले र राप्रपाको साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिनुभएकी हिमला गुरुङ १५ हजारभन्दा बढी मतले पछाडि हुनुहुन्छ । चित्रसेनले ३७ हजार ३२६ र हिमलाले २१ हजार ९०० मत प्राप्त गर्नुभएको छ ।