फाइल तस्वीर
चितवन – चितवनस्थित भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनाको तथ्याङ्क अनुसार मेयर पदमा गठबन्धन दलकी साझा उम्मेदवार रेणु दाहालले आफ्ना प्रतिद्वन्द्वीलाई पछिपार्दै फराकिलो अग्रता प्राप्त गर्नुभएको छ । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीकोभन्दा ६ हजार ५ सय मतले दाहाल अगाडि रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


भरतपुर महानगरपालिकामा अहिलेसम्म ७९ हजार ९१० मतको गणना भैसकेको छ । जसमा साझा उम्मेदवार दाहालले ३१ हजार १२२ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २४ हजार ५८२ मत प्राप्त गर्नुभएको छ । यसैगरी स्वतन्त्र उम्मेदवारका रुपमा खडा हुनुभएका काङ्ग्रेसकै जगन्नाथ पौडेलले १० हजार ९७८ मत पाउनु भएको छ ।

उपमेयरमा पनि गठबन्धन दलका साझा उम्मेदवार नै अघि छन् । उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी आफ्नो प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङभन्दा १४ हजार ४२७ मतको फराकिलो मतान्तरले अगाडि हुनुहुन्छ । अधिकारीले ३३ हजार ५३१ मत पाउँदा राप्रपाकी उम्मेदवार गुरुङले १९ हजार १०४ मत प्राप्त गर्नुभएको छ । भरतपुरमा अहिलेसम्म वडा नम्बर १ देखि १४ सम्मको गणना सकिएको छ । वडा नम्बर १५ र १६ को मतगणना भइरहेको छ ।