चितवन – एकसाता अघिसम्पन्न स्थानीय तह अन्तर्गत भरतपुर महानगरपालिकाको मत गणना लगभग आधाआधि मात्र सकिएको छ । अहिलेसम्म ५५ हजार ६८० मतको गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

अहिले महानगरपालिकाको वडा नं. ११ र १२ मा मत गणनाको काम जारी छ । वडा नं ११ मा हालसम्म ६ हजार ५८२ र वडा नं. १२ मा २ हजार ९७५ मत गनिसकिएको छ । गठबन्धनबाट मेयर पदकी प्रत्यासी माओवादी केन्द्रकी रेनु दाहाल प्रतिस्पर्धी एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ३ हजार २६७ मतले अगाडि हुनुहुन्छ । उपप्रमुखका गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका चित्रसेन अधिकारी आफ्ना प्रतिद्वन्द्वी राप्रपाकी उम्मेदवार हिमला गुरुङभन्दा ९ हजार ३४३ मतले अगाडि हुनुहुन्छ ।

मेयरमा रेणु दाहालले २१ हजार ८५ मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले १७ हजार ८१८ मत ल्याउनु भएको छ भने स्वतन्त्र उम्मेदवारका रुपमा उठ्ने भएका काङ्ग्रेसका पुराना नेता जगन्नाथ पौडेलको प्राप्त मत ८ हजार २६ रहेको छ । महानगरको मतगणनाअनुसार पाँचदलीय गठबन्धनका प्रमुख र उपप्रमुख दुवै उम्मेदवर आफ्नो निकटम प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ । उपप्रमुखका उम्मेदवार चित्रसेन अधिकारीले २३ हजार ४८७ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १४ हजार १४४ मत प्राप्त प्राप्त गर्नुभएको छ ।

यसअघि गणना भएका १० वडामध्ये सात वटा वडामा नेपाली काङ्ग्रेस, दुई वटा वडामा नेकपा एकीकृत समाजवादी र एउटामा एमालेका उम्मेदवार विजयी भएका छन् ।