फाइल तस्वीर
चितवन – चितवन जिल्लाको भरतपुर महानगरपालिकाको पछिल्लो मतगणना अनुसार गठबन्धन दलको मेयर पदकी साझा उम्मेदवार रेणु दाहालले एमालेको मेयर पदका उम्मेदवार विजय सुवेदीसँगको मतान्तर फराकिलो बनाउँदै लगेकी छन् । भरतपुर महानगरमा ४० हजार ७ सय १२ मत गणना हुँदा मेयर पदकी उम्मेदवार दाहालले १५ हजार ४९१ मत पाएकी छन् । यता एमालेका उम्मेदवार विजय सुवेदीले भने १२ हजार ४११ मत पाएका छन् । दाहालले पाएको मत सुवेदीले पाएको भन्दा तीन हजार ८० ले बढी छ ।

यसैगरी उपमेयर पदमा गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले १७ हजार ९०५ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपा उम्मेदवार हिमला गुरुङले नौ हजार ९७८ मत ल्याएकी छ । यी दुई प्रतिस्पर्धिबीचको मतान्तर ८ हजारभन्दा बढी छ । यस हिसावले हेर्दा रेणु दाहाललाई नेपाली काङ्ग्रेसबाट अपेक्षाकृत मत परेको देखिंदैन ।

माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेकी निर्वतमान मेयर रेणु दाहाल अहिले पाँच दलीय गठबन्धन दलकी साझा उम्मेदवार हुन् । एमालेका विजय सुवेदीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सघाएको छ । एमाले अध्यक्ष ओली इतरको मत रेणु दाहालको पक्षमा परेको देखिन्छ ।