फाइल तस्वीर
गोरखा – गोरखा जिल्लाको दुई नगरपालिकाको प्रमुखमा नेकपा माओवादीले बाजि मारेको छ । गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा माओवादी केन्द्रले विजय हात पारेको हो ।


पालुङटार नगरपालिकामा मेयर र उपमेयरमा जितेको छ भने गोरखा नगरपालिकाको मेयरमा जितेको छ । जनता समाजवादी–एमाले गठबन्धन र नेपाली काङ्ग्रेसका उम्मेदवारलाई हराउँदै माओवादीका उम्मेदवार मेयर र उपमेयरमा विजयी भएका हुन् ।

नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विवस चिन्तन ६०७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादीका प्रेमबहादुर गुरुङले ५७१७ मत पाएका छन् ।


यस्तै, उपमेयरमा पनि माओवादी केन्द्रकी वन्दना पाण्डे निर्वाचित भएकी छन् । उनले ५५७९ मत ल्याइन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी चेतकुमारी श्रेष्ठले ५०७७ मत पाएकी छन् । पालुङटारमा अन्तिम अवस्थामा आएर जनता समाजवादी र एमालेबीच तालमेल भएको थियो । तर, गठबन्धनका उम्मेदवार पराजित भए ।


गोरखा नगरपालिकामा पनि मेयरमा माओवादी केन्द्रका कृष्णबहादुर राना विजयी भएका छन् । यहाँ माओवादी र जनता समाजवादीबीच चुनावी तालमेल भएको थियो । माओवादीका रानाले १८५६ मतान्तरले कांग्रेसका उम्मेदवार राजनराज पन्तलाई पराजित गरेका छन् । रानाले ८९६४ मत ल्याएर विजयी हुँदा पन्तले ७१०८ मतमात्रै ल्याए ।

उपमेयरमा भने नेपाली कांग्रेसकी मसलीमाया थोकर पुन विजयी भएकी छन् । उनले गठबन्धनका उम्मेदवार जनता समाजवादीका नारायण खत्रीलाई पराजित गरेकी हुन् । उपमेयर पदमा विजयी पुनले ७४५३ मत ल्याएर विजयी हुँदा खत्रीले ६७१८ मत ल्याएका थिए ।

अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा गोरखाका यी दुवै नगरपालिकामा नेपाली काङ्ग्रेसले जितेको थियो । यसपटक दुवै नगरपालिकामा नेकपा माओवादी केन्द्रले विजयी भएको छ ।