फाइल तस्वीर
काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि सोमबार नेपाल आउनु हुने भएको छ । बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री लुम्बिनी भ्रमणमा आउन लाग्नु भएको हो ।


डेढ महिना अघि प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणमा जानुभएका बेला नयाँदिल्लीमा आफुसँग भएको ‘उपलब्धिमूलक’ वार्तापछि आफू फेरि पनि नेपालका समकक्षीसँग भेट्न इच्छुक रहेको भारतीय प्रधानमन्त्री मोदीले बताउनु भएको छ ।

भारतीय प्रधानमन्त्रीले लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा एक वक्तव्य जारी गर्दै जलविद्युत, विकास, कनेक्टिभिलुम्टीब लगायत क्षेत्रमा दुई देशबीच सहकार्य निरन्तर जारी रहने उल्लेख गर्नुभएको छ । मोदीले नेपालसँग भारतको सम्बन्ध अतुलनीय रहेको उल्लेख गर्दै भारत र नेपालबीच पुरानो सभ्यतादेखि नै जनस्तरको सम्बन्ध र सम्पर्क रहँदै आएको उल्लेख गर्नुभएको छ । जारी वक्तव्यमा ‘यसले हाम्रो निकट सम्बन्धको दीगो संरचना निर्माण गरेको छ,’ उल्लेख गर्नुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीच शताब्दियौंदेखि झांगिँदै आएको सम्बन्धलाई लुम्बिनी भ्रमणले थप गहिरो बनाउने अपेक्षा गर्नुभएको कुरा उल्लेख छ । प्रधानमन्त्री मोदीले बुद्ध जयन्तीमा मायादेवी मन्दिर दर्शन गर्न इच्छुक रहेको उल्लेख गर्दै दसौं लाख भारतीयहरूको पाइला पछ्याउँदै गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पवित्र भूमिमा प्रार्थना गर्न पाउँदा आफूलाई सम्मानित महसुस गरिरहेको बताउनु भएको छ ।