सरकारले आयातमा कडाइ गर्दा राजस्व सङ्कलन उल्लेख्य घटेको छ । चैत महिनाको तुलनामा वैशाखमा २९ अर्ब रुपैयाँ बराबरले राजस्व घटेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । आयात कडाइले केही वस्तुको आयातलाई कम गरे पनि राजस्वमा त्यसको असर देखिएको महालेखाले जनाएको छ ।

सरकारले चैत महिनामा १ खर्ब ५ अर्ब रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको थियो । तर, राजस्वको आधा हिस्सा धानेको आयातमा नियन्त्रण हुँदा वैशाख महिनामा ७६ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ । यससँगै सरकारले वैशाख मसान्तसम्ममा लक्ष्यको ७३.३ प्रतिशत अर्थात् ८ खर्ब ३५ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको हो । चालू आर्थिक वर्षमा सरकारले ११ खर्ब ८० अर्ब रुपैयाँ बराबरको राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

सरकारले शतप्रतिशत राजस्व सङ्कलन गर्न हरेक महिना १ खर्ब ५७ अर्ब बरावरको राजस्व सङ्कलन गर्नुपर्ने छ । (कारोबार दैनिकबाट)