फाइल तस्वीर ।
जनकपुरधाम – मतगणनाको विषयलाई लिइर महोत्तरीको सोनामा गाउँपालिकाको मतगणनास्थल र सर्लाहीको कौडेना गाउँपालिकामा विवाद उत्पन्न हुँदा दुई समुहबीच झडप भएको छ । सर्लाहीमा त प्रहरीले ६ राउण्ड हवाई फायर समेत गर्नु भएको थियो ।

महोत्तरीको सोनामा गाउँपालिकामा मतगणना गर्ने विषयमा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समावादी पार्टी (लोसपा)का प्रतिनिधिबीच झडप भएको बताइएको छ । मतगणना सुरु हुने वित्तिकै विवाद भएको थियो । त्यहाँ ६ मत मात्रै गणना भएको छ । अहिले त्यहाँ मतगणनाको काम अवरुद्ध भएको छ । मतपत्रको कोठामा मसी लागेको मतपत्रलाई सदर गर्ने कि बदर गर्ने भन्ने विषयमा कुरा नमिलेपछि झडप भएको बताइएको छ । सर्वदलीय बैठक बसेर केही समयपछि पुनः मतगणना सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सर्लाहीको कौडेना गाउँपालिकामा यस अघि पनि विवाद भएको थियो पुनः विवाद भएको छ । कौडेनामा यस अघि पनि विवाद भएको थियो । तीन दलको नेताहरूले त्यहाँ पुनः मतदान गराउन माग गर्दै प्रदर्शनसमेत गरिरेहका छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार मतगणनाका लागि गाउँपालिका कार्यालयभित्र सर्वदलीय बैठक भइरहेको बेला बाहिर जम्मा भएका कार्यकर्ताहरू बीच झडप छ ।

कौडेना गाउँपालिका ४ स्थित मोतिपुरमा जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्र्टी (लोसपा) र नेकपा माओवादी केन्द्रले पुनः मतदान गर्नुपर्ने माग गरेका छन् भने नेपाली काङ्ग्रेसले मतगणना हुनुपर्नेमा जोड दिएको छ । त्यहाँ काङ्ग्रेस समर्थकहरुले कृषि तथा पशुपंक्षी विकासमन्त्री महेन्द्र राय सवार गाडीमाथि ढुङ्गामुढा गरेपछि अवस्था तनावग्रस्त बनेको हो । परिस्थिति तनावग्रस्त बन्दै गएपछि नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाईफायर गरेको र तनावग्रस्थ अवस्थालाई प्रहरीले नियन्त्रणमा सफल भएको बताइएको छ ।