मेयर पदका उम्मेदवार दीपकराज जोशीको तस्वीर
दमौली – तनहुँ जिल्ला व्यास नगरपालिकाको मेयरका उम्मेदवारमाथि साङ्घातिक आक्रमण भएको छ । मेयरका उम्मेदवार दीपकराज जोशीमाथि साङ्घातिक आक्रमण भएको हो ।

ब्यास नगरपालिका–८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि नेपाली काङग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका कार्यकर्ताले आक्रमण गरेको मेयरका उम्मेदवार जोशीले बताएका छन् । जोशीको टाउकोमा गहिरो चोट लाग्नुको साथै आँखामा निलडाम छ भने अनुहारभरी घाउ देखिएको छ । रगताम्य अवस्थामा रहेका जोशीमाथि साङ्घातिक आक्रमण भएको उनका कार्यकर्ताहरुले बताएका छन् ।

व्यास नगरपालिकामा जोशीले एमालेको समर्थनमा मेयरमा उम्मेदवारी दिएका थिए । उनी नेपाली काङ्ग्रेसका नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीका छोरा हुन् । व्यास नगरपालिकामा नेपाली काङ्ग्रेसबाट निवर्तमान मेयर बैकुण्ठ न्यौपाने र एमालेको समर्थनमा जोशी मेयर पदका प्रत्यासी बनेका छन् । तनहुँ पूर्वमन्त्री गोविन्दराज जोशीको पकड क्षेत्र मानिन्छ ।

आक्रमणबाट घाइते भएका जोशीले काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा आफूमाथि आक्रमण भएको बताएका छन् । उनले ‘ कोठाभित्र प्रवेश गर्न २ मिनेट मात्र ढिला भएको भए मलाई मार्ने थिए’ भनेका छन् ।

काङ्ग्रेस कार्यकर्ताले मतपत्र च्यातेको भन्दै मेयरका उम्मेदवार जोशीमाथि आक्रमण गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जोशीमाथि मतपत्र च्यातेको आरोप लागेको बताउँदै ‘उहाँले मत पत्र च्यात्नु भएछ । आक्रोशमा स्थानीय काङ्ग्रेस कार्यकर्ताले दुर्व्यवहर गरेछन् । उहाँ अहिले हाम्रो नियन्त्रणमा हुनुहुन्छ । सामान्य चोटपटक हो’ डीएसपी खड्काले बताए ।