श्रीलङ्का – आर्थिक सङ्कटले समस्याग्रस्त बन्दै गएको श्रीलङ्कामा हिंसा भड्किएको छ । यहाँ सरकारका विरुद्धमा नागरिकहरु सडकमा ओर्लिएका छन् । उनीहरुले प्रधानमन्त्री तथा मन्त्रीहरु र सरकारी अधिकारीहरुलाई लक्ष बनाएका बताइएको छ ।

राजनीतिक तथा आर्थिक सङ्कटबाट गुज्रिएको श्रीलङ्कामा आन्दोलन जारी रहेको र सोमबारदेखि हिंसात्मक झडप भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ तथा श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेका अभिभावकको स्मारक भत्काइदिएका छन् । प्रधानमन्त्री राजापाक्छेले भने सोमबार राजीनामा दिएका थिए । तर प्रधानमन्त्रीकै भाई राष्ट्रपति गोटाबाय राजापाक्छेले उनको राजीनामा स्वीकृत गरेका छैनन् ।

प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे परिवारको घरमा आगजानी गरेका प्राप्त समाचारमा जनाइएको छ । तीब्र विरोधबीच यसअघि प्रधानमन्त्री राजापाक्षेले सोमबार दिउँसो पदबाट राजीनामा दिएका थिए ।
उता प्रदर्शनकारीले तीन पूर्वमन्त्री र दुई जना सांसदको घरमासमेत आगजनी गरेका छन् । आज मङ्गलबार पनि बिहानैदेखि झडप सुरु भएको बताइएको छ । सरकार विरोधी प्रदर्शनमा सांसद अमरकिर्थीले नै गोली चलाएको बताइएको छ । झडपमा परेर सत्तारुढ दलका सांसद अमरकिर्थी अथुकोरालाको मृत्यु भएको जनाइएको छ ।