फाइल तस्वीर
काठमाडौं – बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय टोलीका खेलाडी र मुख्यप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीच उत्पन्न विवादलाई समाधान गर्न अखिल नेपाल फुटबल संघ एन्फाले कार्यदल गठन गरेको छ ।


तीनसाता अघि राष्ट्रिय टिमका रोहित चन्दलाई राष्ट्रिय टोलीबाट च्यूत गरिएको विषयलाई लिएर राष्ट्रिय टोलीका खेलाडी र मुख्य प्रशिक्षक अल्मुताइरीबीच विवाद उत्पन्न भएको थियो । मुख्य प्रशिक्षकले १० रोहित चन्द, विमल घर्तिमगरसहित १० जना खेलाडीहरुलाई राष्ट्रिय टोलिबाट हटाए पछि विवाद सहतमा आएको थियो ।

यसै विषयलाई लिएर घटना घटेको तीनसाता पछि आज आइतबार ललितपुरको सात दोवाटोस्थित एन्फा मुख्यालय बसेको कार्यसमिति बैठकले भिक्टर शमसेर राणाको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ । नेपाली सेनाका पूर्व रथी भिक्टर शमसेर राणाको संयोजकत्वमा गठित कार्यदलको सदस्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा र पूर्व राष्ट्रिय फुटबल खेलाडी विदुर विष्ट हरनु भएको छ ।


उक्त समितिले खेलाडी र प्रशिक्षकबीचको विवाद हुनुको मुल कारणको पहिचान गरी समस्या समाधान गर्न एन्फालाई एक साताभित्र सुझाव दिन कार्यदल गठन गरिएको एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताउनु भएको छ ।

करिब दुई साताअघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षण छाडेपछि सुरु भएको विवाद समाधान हुन सकेको छैन । अघिल्लो साता मुख्य प्रशिक्षक अल्मुताइरीले खेलाडीहरुलाई माफी दिएको बताएका थिए । तर खेलाडीहरुले नै घटनाबारे छानविन गर्न माग गर्दै आएका थिए ।

आज बसेको एन्फा बैठकमा कार्यसमितिका १७ मध्ये राजीनामा दिएका तीन सदस्य बाहेक सबै सदस्यहरुको उपस्थित रहेको थियो । प्रशिक्षक र खेलाडीबीचको विवाद समाधानको प्रयास गरे पनि त्यसमा सहमत हुन नसकेपछि एन्फाले कार्यदल गठन गर्ने निर्णय गरेको हो । एन्फाले यसअघि गत बुधबार भिक्टर शमसेर राणामात्रै रहेको एक सदस्यीय छानविन समिति गठन गरेको थियो । त्यसप्रति असन्तुष्टि सार्वजनिक भएपछि एन्फाले आफ्नो वेवसाइटबाट उक्त समिति गठन गरेको कुरा हटाएको थियो ।

एक महिनापछि नेपालले कुवेतमा एएफसी एसिया कप छनोटको खेल खेल्दैछ र त्यसअघि कतरमा अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका समेत सार्वजनिक भैसकेको छ । यस्तो अवस्थामा राष्ट्रिय फुटबल टिममा देखिएको विवादले नेपाली राष्ट्रिय टोलीले नुएक खालको मानसिक तनाव लिएर मैदानमा उत्रनु पर्ने अवस्था देखिएको छ । राष्ट्रिय टिमका खेलाडीहरु कतार जानुअघि नै कार्यदलले एन्फालाई प्रतिवेदन बुझाउनु पर्नेछ ।