दाङ – आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सत्ता पक्ष र प्रतिपक्षी दलका नेताहरु देश दौडाहामा छन् । यसैक्रममा सत्ता गठबन्धनका नेताहरु काङ्ग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाङको तुलसीपुर र घोराहीमा आयोजना गरिएका संयुक्त चुनावी सभालाई सम्बोधन गर्नुभएको छ ।

दाङका दुई उपमहानगरपालिकामा सत्ता गठबन्धनको चुनावी तालमेल रहेको छ । प्रधानमन्त्री समेत रहनु भएका काङ्ग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज आइतबार दाङ पुगेर स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गर्नुभएको छ ।

तुलसीपुरमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लोकतान्त्रिक, प्रगतिशील र अग्रगामी गठबन्धनका उम्मेदवारहरुलाई आफ्नो मत दिएर विजयी गराउनु मतदाताहरुसँग अनुरोध गर्नुभयो ।

सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले ‘संविधान विरोधीहरु सल्बलाएको बेला लोकतान्त्रिक वाम एकतामार्फत् एक भएर संविधान बनायौं । सहमति र सहकार्य गर्न गिरिजाप्रसाद कोइरालाले सिकाउनुभएको हो । त्यहीअनुसार अहिले एकता तालमेल भएको छ भन्दै सबैलाई एकताबद्ध गरेर समाजवाद उन्मुख राज्य स्थापना गर्र्नु पर्नेमा जोड दिनुभयो ।

अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयन र जनताको आवश्यकताअनुसार विकास गर्न गठबन्धनलाई विजयी बनाउनुपर्ने कुरामा जोड दिनुभयो । ‘जनताको सार्वभौमसत्ता विघटन गर्ने काम भयो । त्यो संरक्षण गर्न गठबन्धन भयो । संविधान च्यात्ने तत्वको र लोकतान्त्रिक प्रगतिशीलको फरक गठबन्धन बनेको छ’– माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन अझै केही समय आवश्यक छ भन्दै ‘स्थानीय तहमा गठबन्धन गर्न धेरै गाह्रो छ । तर, जनताको आवश्यकता, दिगो शान्तिका लागि पनि गठबन्धन चाहिन्छ । अहिलेको गठबन्धन अग्रगामी र प्रतिगामी शक्तिका बीचको लडाई भएको भन्दै यसैका लागि केन्द्रको आवश्यकताले गठबन्धन बनेको दावी समेत गर्नुभयो ।

स्थानीय निर्वाचनमा तुलसीपुरको मेयर पदका लागि नेपाली काङ्ग्रेसका गेहेन्द्र गिरी र उपमेयरमा नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना गठबन्धनका साझा उम्मेदवार रहेका छन् । यसैगरी घोराही नगरपालिकामा माओवादीकेन्द्रबाट हेमराज शर्मालाई मेयर र नेपाली काङ्ग्रेसका भुपबहादुर डाँगीलाई उपमेयरमा गठबन्धनको उम्मेदवार बनाइएको छ ।