फाइल तस्वीर
इटहरी – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलहरुप्रति कटाक्ष गर्दै‘टालाटुली बटुली बनाएको पुतली’ को संज्ञा दिनुभएको छ । इटहरी उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्नेक्रममा एमाले अध्यक्ष ओलीले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले वडामासमेत एमालेसँग एक्लै चुनाव लड्न नसकेर गठबन्धन गरेको भन्दै नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरुले बाँडीचुडी खान सत्ता गठबन्धन गरेको आरोप लगाउनु भएको छ । अध्यक्ष ओलीले नेपाली काङ्ग्रेसको चुनावी घोषणा पत्रमा मान्छे देखिने, तर एमालेको घोषणा पत्रमा विकास देखिने दावी गर्दै नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रलाई काङ्ग्रेसको जिउमा भन्किएका झिंगा धपाउने झम्के पछ्यौरी भएको समेत टिप्पणी गर्नु भयो ।

अध्यक्ष ओलीले बाँडेर खाने उद्देश्यले बनाएको गठबन्धनलाई जनताले निर्वाचनमा मत दिन नहुने धारणा राख्नु भयो । चुनावी सभालाई सम्बोधन गर्दै ओलीले ‘गठबन्धनलाई भोट हाल्ने हो कि सुखी नेपाली समृद्ध नेपाल बनाउनेलाई भोट हाल्ने फैसला मतदातामा निर्भर गर्छ । म इटहरी विकासको जिम्मा लिन्छु । तपाईंहरू याम सुब्बा र सङ्गीता चौधरीलाई जिताएर देखाउनुस’, भन्दै एमालेका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।