काठमाडौं – कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा आज शनिबार भएको दोस्रो एकदिवसीय खेलमा नेपालले जिम्बाब्वेलाई हराएको छ । नेपालले पाहुना टिम जिम्बाब्वेमाथि नौ विकेटको सहज जित निकालेको हो । यो खेलसँगै नेपालले श्रृङ्खला १–१ को बराबरीमा ल्याएको छ ।

पहिले ब्याटिङ गरेको जिम्बाब्वेले दिएको ८८ रनको झिनो लक्ष्य नेपालले ११.२ ओभरमा एक विकेट गुमाएर पाहुना टिमलाई हराउन सफल भयो । नेपालको जितमा ओपनर सुनिल धमलाले सर्वाधिक ३८ रन बनाएसँगै उनले ३८ बलमा ६ चौका समेत प्रहार गर्न सफल भए ।

यस्तै, अविजित रहेका अर्का ओपनर आसिफ शेखले २१ बलमा ६ चौकासहित ३४ रन बनाउँदा विनोद भण्डारीले तीन बलमा एक चौकासहित चार रन बनाए । जिम्बाब्वे ब्रान्डन मभुटाले एक विकेट हात पारे ।

यसअघि तिव्र गतिका बलरद्वय करण केसी र सोमपाल कामीले कसिलो बलिङ गरेपछि टस हारेपछि ब्याटिङमा निम्त्याइएको जिम्बाब्वे ‘ए’ ले नेपालसामू ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ । पहिलो इनिङमा जिम्बाब्वे ‘ए’ ३१.५ ओभरमा ८७ रनमै समेटिएको थियो ।

जिम्बाब्वेका तीन ब्याटरले मात्रै दोहोरो रन जोड्न सफल भएका थिए । जिम्बाब्वेका ओपनर सेफास झुवाओले १० रन बनाउदा जोनाथन क्याम्पबेलले टोलीको खातामा सर्वाधिक २७ रनको साझेदारी गर्दा अन्तिमसम्म अविजित रहेका ब्राड एभिन्सले २० रन बनाएका थिए ।

जिम्बावेलाई सस्तैमा समेट्न नेपालका करण र सोमपालले समान तीन विकेट लिएका थिए । समान सात ओभर बलिङ गरेका करणले तीन मेडन राख्दै १६ रन खर्चिदा सातै ओभर बलिङ गरेका सोमपालले १६ रन नै खर्चिनु परेको जियो ।

यसबाहेक, कप्तान सन्दीप लामिछानेले दुई विकेट लिँदा सागर ढकालले एक विकेट हात पारे । यसअघि शुक्रबार भएको श्रृङ्खलाअन्तर्गतको पहिलो एकदिवसीय खेलमा नेपाल जिम्बाब्वेसँग तीन विकेटले पराजित भएको थियो ।

जारी श्रृङ्ंखलाको अन्तिम खेल आगामी सोमबार हुनेछ । नेपालले पहिलो पटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्रको टिमविरुद्ध क्रिकेट श्रृङ्खला खेलेको हो । एकदिवसीय श्रृङ्खला अघि नेपालले तीन खेलको ट्वान्टी–२० श्रृङ्खला खेलेको थियो। उक्त श्रृङ्खला १–१ को बराबरीमा टुङ्गिएको थियो ।