दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबल टेनिस प्रतियोगितामा सहभागी हुन नेपाली टोली आइतबार माल्दिभ्स जाने भएको छ । अखिल नेपाल टेबल टेनिस सङ्घका उपाध्यक्ष धर्ममान वज्राचार्यको नेतृत्वमा माल्दिभ्स जान लागेको टिममा आठ खेलाडी छन् ।

संयोग कपाली, रुबिन महर्जन, सुजन गडाल, इभाना थापा मगर, बियन्का राई, शुभश्री श्रेष्ठ, प्रिन्स थापा र उज्वल मानन्धर टिममा छन् । म्याच कमिसनार तेजेन्द्र महारा र प्रशिक्षक मोहनदास बासुकला हुन् । टिममा पदाधिकारी प्रतेश श्रेष्ठ पनि छन् । प्रतियोगिता वैशाख २६ देखि २८ गतेसम्म मालेमा हुनेछ ।

प्रतियोगिताका क्रममा हुने दक्षिण एसियाली टेबल टेनिस संघको बैठकमा अखिल नेपाल टेबल टेनिस सङ्घका अध्यक्ष चतुरानन्दाज वैद्य र दक्षिण एसियाली टेबलटेनिस संघका महासचिव शंकर गौत्तमले भाग लिनेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबीच बिहीबार बिदाइ गरे ।

त्यसअघि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बिहीबारै आयोजित एक छुट्टै कार्यक्रममा टोलीलाई सातदोबाटोमा बिदाइ गरेका थिए । उक्त कार्यक्रममा प्रतियोगितामा सहभागी हुने नेपाली टोलीका लागि लिनिङ नेपालका प्रमुख कार्यकारी अधिकृत राजेन महर्जनले पोसाक तथा खेल सामग्री प्रदान गरेका थिए ।