काठमाडौं – काठमाडौं महानगरपालिका–१२ टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र ९५ ग्राम सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने धनकुटा पाख्रिबास नगरपालिका–८ घर भएका ५७ वर्षीय मण्डल गिरी रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा लुकाई राखेको अवस्थामा उक्त गोली र वस्तुसहित उनलाई पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका–३१ शान्तिनगरस्थित युनिभर्सल लन्च एण्ड बार होटलबाट करिब ४ किलो ५ सय ग्राम सालकको खपटासहित दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं चाबहिल बस्ने सर्लाही बाग्मती नगरपालिका–३ घर भएका ३२ वर्षीय सुबिलाल सिङ्तान र काठमाडौं थलि बस्ने ओखलढुङ्गा सुनकोशी गाउँपालिका–२ घर भएका २१ वर्षीय सुवास बिष्ट रहेका छन् । प्रहरी वृत्त नयाबाँनेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त खपटासहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।