काठमाडौं – नेप्से परिसूचक एक वर्षयताकै न्यून विन्दुमा झरेको छ । साताको चौंथो दिन बुधबार नेप्सेमा १ दशमलब ३८ प्रतिशतले गिरावट आएको छ । यो गिरावट ०७८ मङ्सिरपछि २ हजार ३ सय अङ्कको विन्दुबाट झरेको हो ।

नेप्से ३१ दशमलब ७६ अङ्कले गिरावट हुँदा बुधबार २२७५ दशमलब ६८ अङ्कमा बन्द भएको छ । यो पछिल्लो एक वर्षयताकै न्यून विन्दु हो । गत वर्ष भदौ २ गते ३१९९ दशमलब ०३ अङ्कसम्म पुगेको नेप्से मङ्सिर २७ गते २२८१ दशमलब ६७ अङ्कसम्म झरेको थियो ।

यो एक वर्षको अवधिमा बजारमा नेप्से लगातार उतारचढाव कायम रहे पनि उक्त विन्दुभन्दा झल झरेको थिएन । तर, पछिल्ला केही दिनयता निरन्तर घटिरहेको नेप्से बुधबार एक वर्षयताकै न्यून विन्दुमा झरेर बन्द हुन पुगेको हो ।

नेप्सेसँगै सबै उपसूचकमा पनि गिरावट आएको छ । जस्लेगर्दा कारोबार रकम पनि घट्न पुगेको छ । गएको सोमबार एक अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको बजारमा आज करिब एक अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

लगातार घट्दो क्रममा देखिएका नेप्से बजारमा अरुण भ्याली हाइड्रोपावरको करिब चार करोड ५९ लाखको कारोबार हुँदा हिमालयन डिस्टिलरीको तीन करोड ५२ लाख र नबिल बैंकको तीन करोड ४२ लाख ५० हजारको कारोबार भएको छ ।

बुधबार दिनभर बजारमा १ सय ९६ कम्पनीको सेयर कारोबार भैरहँदा १ सय ७७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । जबकी जम्मा १५ वटा कम्पनीको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । यसैगरी चारवटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज कारोबार भएका मध्ये जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा बरुण हाइड्रोपावरको ४ दशमलब ४५ प्रतिशतले वृद्धि हुन पुगेको थियो । ग्रिन भेन्चर्स लिमिटेडको सेयर मूल्य सर्वाधिक ९दशमलब ३६ प्रतिशतले गिरावट हुँदा युनियन हाइड्रोपावरको ५दशमलब ७७ प्रतिशत र सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य ५ दशमलब३८ प्रतिशतले घट्न पुगेको छ ।