साङ्केतिक तस्वीर
धुलिखेल – भारतीय तीर्थयात्रु बोकेको यात्रुवाहक बस र टाटासुमो एकआपसमा ठोकिएर दुर्घटनामा परेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ स्थित वीपी राजमार्गमा दुर्घटनामा परेको हो ।

काठमाडौंबाट काभ्रेपलाञ्चोक हुँदै तीर्थयात्री बोकेर भारत जान हिंडेको बस र सिन्धुलीबाट काठमाडौंको लागि प्रस्थान गरेको टाटासुमो आज बुधबार दिउँसो एक आपसमा ठोकिंदा पाँच जनाको मृत्यु हुनुको साथै १८ जना गम्भीर घाइतेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता डिएसपी हरि खतिवडाले बताएका छन् । उक्त दुर्घटनामा परी मृत्यु हुनेमा एक बालकसहित पाँच जना रहेको काभ्रे प्रहरीले जनाएको छ ।

युपी ५८ टि ८१८१ नम्वरको भारतीय नम्बर प्लेटको तीर्थयात्री बोकेको फोर्स गाडी र सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको ना १ ज ४२१० नम्बरको टाटासुमो एक आपसमा जुधेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटना परी घाइते हुनेहरुको उपचार धुलिखेल अस्पतालमा भइरेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनाको विषयमा विस्तृत विवरण आउन बाँकी छ । घाइतेहरुलाई उद्धार गरी धुलिखेल अस्पताल ल्याइएको छ ।