फाइल तस्वीर
काठमाडौं – जारी आईपीएल क्रिकेट प्रतियोगितामा मुम्बई इण्डियन्सले पहिलो जित हासिल गरेको छ । लगातार आठौं हार व्यहोर्दै आएको मुम्बईको यो पहिलो जित हो ।

अन्तिम ओभरमा टिम डेभिडको तीव्र ब्याटिङको मद्दतमा राजस्थानलाई पाँच विकेटले हराएर मुम्बईले आईपीएल २०२२ मा खाता खोल्न सफल हुँदा पहिलो जित निकाल्यो ।

राजस्थान विरुद्ध मैदानमा उत्रिएको मुम्बइले सुरवात राम्रो खेल्न सकेको थिएन । राजस्थानले दिएको १५९ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईका कप्तान रोहित शर्मा केबल २ रनमा आउट भएका थिए । पावरप्लेको अन्तिम ओभरमा मुम्बईका दोस्रा ओपनर इशान किसान पनि २६ रन मात्रै बनाएर आउट भएका थिए ।

त्यसपछि सूर्यकुमार यादव र तिलक बर्माले अर्धशतकीय पारी खेले । सूर्यकुमारले ५१ रन बनाए भने बर्मा ३५ रनमा आउट भए । कायरन पोलार्डले १० रन बनाए । ९ बलको सामना गरेका टिम डेभिडले दुई चौका र एक छक्काको मद्दतमा अविजित २० रन बनाउन सफल भए । डेनियल साम ६ रनमा अविजित रहे । अन्तिम ओभरमा टिम डेभिडको तीब्र ब्याटिङको मद्दतमा मुम्बईले ५ विकेटको क्षतिमा १६१ रन बनाउन सफल हुँदा मुम्बइले जित हासिल गर्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनाएको थियो । राजस्थानका लागि जोस बटलरले ६७ रन बनाए । देवदत्त पड्डिकलले १५ रन, कप्तान सन्जु सामसनले १६ रन र रविचन्द्र आश्विनले २१ रन बनाए ।