कास्की – सत्ता गठबन्धनमा असहमति जनाउँदै विरोधमा उत्रिएका पोखराका काङ्ग्रेस कार्यकर्ताले प्रदेश कार्यालयमा तोडफोड गरेका छन् । आफ्नो वडामा अरू पार्टीलाई अध्यक्ष दिएको भन्दै पोखराको १८ र २४ का कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गर्दै तोडफोड गरेका हुन् ।

उनीहरूले प्रदेश सभापति शुक्रराज शर्माको कार्यकक्षमा रहेको फर्निचर फुटाएका छन् । तोडफोडमा उत्रिएको भन्दै कास्की प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । नेपाली काङ्ग्रेसबाट उम्मेदवारी दिएका उम्मेदवारलाई माथिको निर्देशन भन्दै फिर्ता लिन आग्रह गरेपछि कार्यकर्ता आक्रोशित भएका हुन् ।

आफैले तोडफोड गरेको स्वीकारेका कारण उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यसअघि ३३ वटै वडामा आफ्नो प्यानल उठाएको काङ्ग्रेसले अहिले भने गठबन्धन हुने ठाउँमा उम्मेदवारी फिर्ता लिन लगाएको छ ।