काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक भने लगातार ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार उच्च अङ्कले वृद्धि भएको नेप्से परिसूचक आज अन्तिम दिन भने २० अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ओरालो लागेर २३५६ दशमलव १७ मा झरेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ३२ अङ्कले ओरालो लागेर ४५० दशमलव २४ मा पुगेको छ । आज २२६ कम्पनीको ४५ लाख ७४ हजार ५२० कित्ता शेयर १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८०८ मूल्यमा खरिद बिक्री भयो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण ३३ खर्ब ५१ अर्ब ६४ करोड ३३ लाख ३० हजार बराबर सीमित भएको छ ।

कारोबार भएका कुल १३ उपसमूहकै शेयर मूल्यमा गिरावट आएको छ । नेप्सेका अनुसार बैंकिङ ६ दशमलव ३८, व्यापार ३२ दशमलव ०७, होटल तथा पर्यटन २६ दशमलव ३६, विकास बैंक ७५ दशमलव ४४, जलविद्युत् २३ दशमलव ०४, वित्त ३० दशमलव १३, निर्जीवन बीमा ४१ दशमलव ३३, उत्पादन ७४ दशमलव ९९, अन्य २६ दशमलव ८३, लघुवित्त ३८ दशमलव ०३, जीवन बीमा १५० दशमलव ७४, सामूहिक लगानी कोष ० दशमलव ०३ र लगानी ० दशमलव ९५ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा ग्लोबल आईएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको ५ करोड २५ लाख ४९ लाख ६०३ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी ५ करोड ३ लाख ६१ हजार २४२, एनसीसी बैंक ४ करोड ९७ लाख ८ हजार ६२६, अरुण भ्याली हाइड्रोपावर ४ करोड ७३ लाख ३४ हजार ६३४ र नबिल बैंक ४ करोड २ लाख ४ हजार २६८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार घटेको बजारमा जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको हो । राधी विद्युत् कम्पनी ४ दशमलव १७, माउण्टेन इनर्जी नेपाल ३ दशमलव २९, नबिल ब्यालेन्स फण्ड तेस्रो ३ दशमलव २५ र मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २ दशमलव ८८ प्रतिशतले कमाए ।

गुह्यश्वरी मर्चेन्ट बैंक ३ दशमलव ९८, गणपति लघुवित्त ३ दशमलव ८३, माहुली लघुवित्त ३ दशमलव ७३, पाँचथर पावर कम्पनी ३ दशमलव ७१ र किसान लघुवित्तका लगानीकर्ताले ३ दशमलव ६७ प्रतिशतले गुमाएका छन् ।