फाइल तस्वीर
चितवन – भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रले रेणु दाहाललाई गठबन्धन दलले पुनः उम्मेदवार स्वीकारेपछि राष्ट्रिय राजनीतिलाई तरङ्गित बनाएको छ । विशेष गरी केन्द्रमा शीर्ष नेतृत्वको गठबन्धनले जिल्लामा नेपाली काङ्ग्रेसका इमान्दार नेता कार्यकर्ताहरु विच्किएका छन् ।

अघिल्लो निर्वाचनमा नेपाली काङ्ग्रेससँग गठबन्धन गरेर महानगरपालिकाको मेयर बन्न सफल रेणु दाहाल अहिले पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी भएकै कारण माओवादीले उनैलाई मेयरमा दोहोर्याएको छ । अघिल्लो निर्वाचनमा एमालेका देवी ज्ञवालीलाई झिनो मतले पछि पार्दै रेणुले महानगरपालिकाको मेयरमा बाजि मारेकी थिइन् । केन्द्रीय गठबन्धनले रेणुलाई नै पुनः मेयरको लागि उम्मेदवारमा समर्थन गरेपछि अहिले चितवनका काङ््ग्रेसी कार्यकर्ताहरु पार्टी निर्णय र निर्देशनकै विरुद्धमा छन् ।

भरतपुर महानगरमा माओवादी केन्द्रलाई मेयर र नेपाल काङ्ग्रेसलाई उपमेयर दिनेगरी गठबन्धन दलका शीर्ष नेतृत्वमा सहमति जुटेको थियो । काङ्गेसले सुरुमा यस पटक आफुहरुले भरतपुरको मेयर पाउनु पर्ने अडान राख्दै आएको थियो । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अन्य ठाउँमा मेयर, उपमेयर छोड्न सकिने तर भरतपुरको मेयर पद आफ्नो पार्टीले पाउनु पर्ने जिकिर गर्दै आएका थिए । भरतपुरमा माओवादीलाई नदिएमा गठबन्धनबाट अलग हुनेसम्मका चेतावनी माओवादीले दिएपछि काङ्ग्रेस बाध्य भएर पछि हट्न पुगेको थियो ।

चितवनमा नेपाली काङ्ग्रेसी नेता कार्यकताहरुको चर्को विरोध भैरहँदा हिजो १२ गते इमान्दार नेताको छवि बनाएका काङ्गेसका नेता जगन्नाथ पौडेलले स्वतन्त्र रुपबाट भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारीले जिल्लाका काङ्ग्रेसी नेता कार्यकर्ताहरु उत्साहित भएको देखिन्छ । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विजय सुवेदीलाई भरतपुर महानगरको मेयरको उम्मेदवार बनाएको छ । सुवेदी बागमती प्रदेशका सांसद् पदबाट राजीनामा दिएर मेयरका प्रत्यासी बनेका हुन् । तिनै सुवेदीले अघिल्लो निर्वाचनमा देवी ज्ञवाली विरुद्ध भित्रभित्रै ठूलै क्याम्पेनिङ गरेका व्यक्ति हुन् । उनीहरुबीच अहिले पनि सुमधुर सम्बन्ध नरहेको एमालेकै नेता कार्यकर्ताहरु बताउँछन् ।

अब निर्वाचन हुन १७ दिनमात्र बाँकी छ । आजसम्मको वस्तुस्थितिलाई हेर्दा भरतपुर महानगरपालिकाको मेयरको चुनाव त्रिकोणात्मक प्रतिस्पर्धा हुने स्थिति देखिन्छ । माओवादी केन्द्रको विरुद्ध एमाले र स्वतन्त्ररुपमा उम्मेदवारी दिएका काङ्ग्रेसका नेता जगन्नाथ पौडेल चुनौती देखिएका छन् । नेपाली काङ्ग्रेसको मत जगन्नाथ पौडेलको पक्षमा जाने विश्लेषण गर्न थालिएको छ ।

भरतपुर महानगरको मेयर पदको स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले उम्मेदवारी फिर्ता नलिएको अवस्थामा महानगरको निर्वाचन त्रिपक्षीय भिडन्त हुने पक्का छ । एमालेका विजय सुवेदीको विपक्षमा एमालेकै ठूलो जमात विपक्षमा रहेको छ भने माओवादी केन्द्रमा पनि रेणु दाहालप्रति तिव्र असन्तुष्टि रहेको स्वयम् माओवादीका कार्यकर्ताहरुको भनाइ छ । वडास्तरमा माओवादीका वागी उम्मेदवार समेत उठाइएका छन् । यता स्वतन्त्र उम्मेदवारी दिएका काङ्ग्रेसी नेता पौडेललाई एमाले र माओवादी केन्द्रको असन्तुष्ट समूहले मत दिने बलियो सम्भावना देखिन्छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको केही मत पौडेलकै पक्षमा जाने विश्लेषण पनि गरिएको छ ।

अहिले भरतपुर महानगरमा गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रबाट निवर्तमान मेयर रेणु दाहालले पुनः मेयरमा सहजै जित्ने जुन खालको विश्लेषण गरिएको छ, त्यसमा खासै दम देखिंदैन । रेणुका पक्षमा माओवादी केन्द्रप्रति आस्था राख्ने नेता कार्यकर्ताहरुले नै मत नहाल्ने अवस्था पनि देखिएको छ । रेणु दाहाललाई चुनावमा प्रतिकुल प्रभाव पार्ने मुख्य चारवटा विषयहरु छन् ।

पहिलो, अध्यक्ष प्रचण्डले केही दिन अघिमात्रै काङ्ग्रेसको जिल्ला नेतृत्व र कार्यकर्ताहरुलाई होच्याउँदै जिल्लाको मतलब हुँदैन, केन्द्रले निर्णय गर्छ भन्नुले पनि काङ्ग्रेसी कार्यकर्ताहरु माओवादी केन्द्र त्यसमाथि दाहाल परिवारप्रति चिडिको अवस्था छ ।

दोस्रो, स्थानीय निर्वाचनको मुखमा आएर पार्टी अध्यक्ष प्रचण्डले आफ्ना भाइ नाराणण दाहाललाई राष्ट्रियसभाको सदस्य बनाउनुले पनि त्यसक्षेत्रका कार्यकर्ताहरुमा आक्रोश र असन्तुष्टि चुलिएको छ ।

तेस्रो, भावी राजनीतिलाई मध्यनजर गर्दै जुन रुपमा निर्वतमान मेयर रेणु दाहालले अन्तरपार्टी सम्बन्ध बुढाउनु पर्ने थियो, त्यता उनले ध्यान दिन सकिनन् या कुनै मतलब राखिनन्, त्यो उनको ठूलो कमजोरी रहेको जिल्लास्तरका नेताहरुको विश्लेषण छ । बाबुको आडमा चितवनको राजनीति गरेको उनीमाथि ठूलो आरोप थियो र छ पनि ।

चौथो, रेणुले भावि राजनीतिका लागि बाबुको विराशतको आड खोज्नुभन्दा समग्र पार्टी र कार्यकर्ताको मन जित्ने छुने काम गर्नु पर्ने थियो । जिल्लामा अन्य राजनीतिक दलहरुसँग सुमधुर सम्बन्ध स्थापित गर्नु पर्ने आवश्यकता थियो । आफ्ना विरोधीहरुलाई कुटिल राजनीतिक सहिष्णुताले मनजित्नु पर्ने आवश्यकता थियो । यो उनीबाट हुन सकेन । एउटा सानो झुण्डको घेरालाई रेणुले चिर्न नसक्दा उनी आफ्नै पार्टीका नेता कार्यकर्ताबाट तिरस्कृत हुने अवस्था देखिएको छ ।

मेयर भएपछि उनले विकास निर्माणका काममा जोड त दिएको नगरवासीहरुको बुझाइ छ । जिल्लाका कतिपय काङ्ग्रेसी नेता कार्यकर्ताहरु पनि यो कुरा अस्वीकार गर्दैनन्, र पनि उनको कतिपय व्यवहारले मतदाता समेत चिडिएका छन् । नेपाली काङ्ग्रेसले गठबन्धनको उम्मेदवारलाई मत नदिने नेता तथा कार्यकर्ताहरुलाई कारवाही गर्ने चेतावनी पनि दिंदै आएको छ । सुरुका दिनमा काङ्ग्रेस नै मेयर पद पाउनु पर्ने भन्दै केन्द्रको समेत चर्को विरोध गर्दै आएका चितवनका सभापति राजेश्वर खनाल पार्टी सभापति शेरबहादुर देउवालाई भेटे लगतै गुमनाम जस्तै भएका छन् । उनको विरोध नारायणी नदीले बगाइदिएको छ ।

भलै उनले जनयुद्धदेखि अहिलेसम्म गरेको दुःख र सङ्घर्षलाई न्यूनीकरण गर्नु पनि अन्याय हुन्छ नै । उनी प्रचण्डको छोरीमात्र नभै माओवादी आन्दोलनकी एउटा जुझारु कार्यकर्ता पनि हुन् । नेपाली राजनीतिमा धेर थोर उनको पनि लगानी त होला नै, तर उनको रवैयाले उनको राजनीति भविष्य प्रतिनै कुरीकुरी भन्ने अवस्था ल्याइदिएको छ । तसर्थ माओवादी केन्द्रले महानगरपालिकामा रेणु दाहालले सहजै जित्ने जुन खालको सतही विश्लेषण गरेको छ, त्यो उसैको लागि प्रत्युत्पादक हुने देखिएको छ ।

भरतपुर महानगरपालिकाको मतदाता सङ्ख्यालाई हेर्दा नेपाली काङ्ग्रेसको करिब ५० हजार, एमालेको ४७ हजार, माओवादी केन्द्रको ३४ हजार, राप्रपाको १३ हजार र एकीकृत समाजवादीको ८ हजारको प्रारम्भीक अनुमान छ । मुख्य यी तीन ठूला पार्टी आन्तरिक विवादले थिलो थिलो भएका छन् । पार्टी भित्रको असन्तुष्टिलाई व्यवस्थापन गर्न नसक्दा मुख्य तीन वटै दलका लागि ठूलो चुनौती रहेको छ । एमालेको असन्तुष्ट र माओवादी केन्द्रको असन्तुष्ट मत स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई जाने सम्भावना देखिन्छ । यही १६ र १७ गतेसम्ममा भरतपुर महानगरपालिकाको चुनावी भिडन्त कस्तो हुने भन्ने अनुमान गर्न सकिने छ ।