काठमाडौं – काठमाडौंको कोटेश्वरबाट प्रहरीले लागुऔषध सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर घर भएका ३२ वर्षीय मुकुन्द केसी रहेका छन् ।

लागुऔषध कारोबार गरेको सुराकको आधारमा महादेवस्थान स्थित सडकबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । केसीको साथबाट प्रहरीले २५ एम्पुल नुफ्रिन, २५ एम्पुल फेनारगन र सोही परिणाममा डाइजेपाम बरामद गरेको हो ।

मुकुन्द केसीसँगै भेटिएका अर्का एक स्कुटर चालक भने स्कुटर नै छाडेर फरार भएका छन् । स्कुटरको डिक्की चेकजाँच गर्दा डाइजेपाम १३७ एम्पुल, फेनारगन १४० एम्पुल, नुफ्रिन १२९ एम्पुल र नाइट्राभेट १०५ ट्याब्लेट फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।