ताप्लेजुङ – जिल्ला मालपोत कार्यालय ताप्लेजुङका प्रमुख मालपोत अधिकृत लेखा पनेरु महतलाई अख्तियारको टोलीले आज दिउँसो नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले महतलाई सेवाग्राहीबाट लिएको १ लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

बाबुका नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट १ लाख ५० हजार रकम लिएको अभियोगमा पनेरुलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

फुङ्लिङ वडा नं ४ स्थित एक घरबाट सेवाग्राहीबाट लिएको रकम उक्त रकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । गत साउन महिनाबाट चलाइएको यस प्रक्रियामा सम्बन्धित धनीलाई कागजात बुझाउन बाँकी रहेको अवस्थामा आर्थिक लेनदेन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।