काठमाडौं – शिक्षक सेवा आयोगले आगामी जेठ ३० गतेसम्म शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम भर्न निर्देशन दिएको छ । आयोगले नयाँ शैक्षिक सत्र सुरु भएको ३० दिन भित्र शिक्षकहरूले कार्यसम्पादन मूल्याङ्कन फाराम भरी सम्बन्धित विद्यालयमा दर्ता गर्न निर्देशन दिएको हो ।

सामुदायिक विद्यालयका शिक्षकहरुको शैक्षिक सत्र २०७८ को कार्य सम्पादन मूल्याङ्कन फाराम आगामी जेठ ३० गतेसम्म भरी दर्ता गराउन सबै शिक्षा विकास निर्देशनालय, शिक्षा विकास तथा समन्वय इकाइ, र सम्पूर्ण स्थानीय तहलाई सूचना जारी गरेको छ । शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधनसहित) को नियम ३२ घ को उपनियम (७)मा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकले नयाँ शैक्षिक सत्र शुरु भएको ३० दिनभित्र कार्यसम्पादन मूल्याङ्कन फाराम भरी सम्बन्धित विद्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था रहेको छ ।

कोभिड १९ को सङ्क्रमणका कारण विषम परिस्थिति उत्पन्न भई २०७८ माघ महिनाभर देशभरका सबै विद्यालयहरु बन्द रहेकाले शैक्षिक सब २०७८ को चैत्र मसान्तसम्मको पुरै अवधि विद्यालयले नियमित रुपमा पठन पाठन सञ्चालन गर्ने, विद्यालयले लिने कक्षा १० सम्मका सबै प्रकारका परीक्षाहरु २०७९ वैशाखमा मात्र सञ्चालन गर्ने र नतिजा प्रकाशनको काम समेत वैशाख महिना भित्रै सक्ने तथा विद्यालयले शैक्षिक सत्र २०७९ को नयाँ विद्यार्थी भर्नासमेत वैशाख महिनामा नै सुरु गर्ने, २०७९ जेठ १ गतेदेखि नियमित पठन पाठन गर्ने र २०७९ चैत मसान्तभित्र राष्ट्रिय पाठपक्रम प्रारुपले निर्दिष्ट गरे बमोजिम पाठघण्टा अनुसारको पठन पाठन तथा सिकाइ क्रियाकलाप एवम् परीक्षा र मूल्याङ्कनका कार्यहरु सकिने गरी विद्यालयले स्थानीय तहसँगको समन्वयमा बार्षिक शैक्षिक कार्यतालिका तय गरी कार्यान्वयन गर्ने भनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७८ फागुन ३ गते निर्णय गरेकाले सामुदायिक विद्यालयका शिक्षकहरुले शैक्षिक सत्रको कार्य सम्पादन मुल्याड्ढन भर्ने र दर्ता गराउन भनिएको छ ।