काठमाडौं – फ्रेन्च लिग वान फुटबलको उपाधिमाथि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले कब्जा जमाएको छ । घरेलु मैदानमा लेन्ससँग १–१ गोलको बराबरी खेल्दै (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको हो ।

शनिबार राति दोस्रो स्थानको मार्सेलीविरुद्ध १६ अङ्कको अग्रता बनाउँदै पीएसजीले चार खेल अघि नै दशौँ पटक फ्रेन्च लिग वानको उपाधि पक्का गरेको थियो । पीएसजी यो सहित १० पटक जित्न सफल भएको छ । पीएसजीले सन् १९८६, १९९४, २०१३, २०१४, २०१५, २०१६, २०१८, २०१९, २०२० पनि उपाधि जितेको थियो ।

खेलको ६८औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए । ८८ औं मिनेटमा कोरेन्टिन जिनले गोल गर्दै १० खेलाडीमा सीमित लेन्सलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै पीएसजीले ३४ खेलबाट ७८ अङ्क जोडेको छ । लेन्स ५४ अङ्क जोडेर सातौं स्थानमा छ । यसै सिजन बार्सिलोना छाडेर पेरिस झरेका लियोनल मेस्सी र सर्जियो रामोसको यो पहिलो फ्रेन्च लिग उपाधि हो ।