फाइल तस्वीर
काठमाडौं – भन्सार विभागका अनुसार अघिल्लो महिनामा सुन आयात घटेकोे छ । विदेशबाट आयात गरिंदै आएको पहेंलो धातु सुन आयातमा कमी आएको विभागले जनाएको हो ।


विभागको तथ्याङ्कअनुसार अघिल्लो महिनामा फागुनसम्ममा २८ अर्ब १७ करोड रुपैयाँको सुन आयात भएको थियो । जुन, चैत महिनासम्ममा २८ अर्ब ५४ करोड रुपैयाँको मात्रै भित्रिएको हो ।

तथ्याङ्कअनुसार चैत महिनामा जम्मा ३७ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ । खासगरी, नेपाल राष्ट्र बैंकले घट्दो अवस्थामा रहेको विदेशी मुद्राको सञ्चिति जोगाउन धेरैवटा वस्तुको आयातमा रोक लगाएको छ । राष्ट्र बैंकले अन्य वस्तुहरूमा जस्तै सुनको आयातमा समेत एलसी खोल्न नमिल्ने प्रावधान लागू गरेको थियो । जसले आयातलाई पूर्ण नियन्त्रणमा राखेको हो । चालू आर्थिक वर्ष २०७८÷७९ को ९ महिनामा सुन आयात बापत ३ अर्ब ४८ करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

यसैगरी, चाँदीको आयात समेत नियन्त्रणमा लिन केन्द्रीय बैंक सफल बनेको छ । फागुनसम्म १२ अर्ब ७९ करोडको चाँदी भित्रिएकामा चैत महिनासम्ममा १२ अर्ब ८३ करोडको चाँदी आयात भएको भन्सारले जानकारी दिएको छ । गत आर्थिक वर्षको तुलनामा अस्वभाविक रूपमा चाँदी आयात भएपछि केन्द्रीय बैंकले यसको नियन्त्रणतर्फ ध्यान दिएको थियो ।

चाँदी आयात नियन्त्रण गर्दा एलसीमा शतप्रतिशत मार्जिन व्यवस्था गर्दै आयात निरुत्साहन गरेको थियो । केन्द्रीय बैंकले चालेको कदमले चाँदीको अस्वभाविक आयात पूर्णरूपमा नियन्त्रणमा आएको छ ।