काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्स शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा राजस्थानले दिल्लीलाई १५ रनले हराएको हो । २ सय २३ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले ८ विकेट गुमाएर २ सय ७ रनमा मात्र समेटिन पुग्यो । दिल्लीका लागि कप्तान ऋषभ पन्तले बनाएको ४४ रन, पृथ्वी शाले ३७ र डेविड वार्नरले २८, ललित यादवले ३७, रोमन पोविलले ३६ रन जोडेका थिए । अन्य खेलाडीले भने राम्रो अङ्क जोड्न सकेनन् ।

राजस्थानका प्रसिद्ध कृष्णले सर्वाधिक ३ विकेट लिए । रविचन्द्रन आश्विनले २, युजभेन्द्र चाहल र ओबेद मककायले एक÷एक विकेट लिए । पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय २२ रन बनाएको थियो । ओपनर जोस बटलरको १ सय १६ रनको विस्फोटक इनिङ्समा राजस्थानले ठूलो स्कोर खडा गरेको हो । बटलरले ६५ बलमा ९ चौका र ९ छक्का हिर्काएका थिए ।

देवदत्त पाडिक्कले ५४ रनको अर्धशतकिय पारी खेले । सञ्जु सामसन ४६ मा नटआउट रहे । दिल्लीका मुस्ताफिर रहमान र खलिल अहमदले समान एक एक विकेट लिए । जितसहित लिगको शीर्ष स्थानमा उक्लिएको राजस्थानले ७ खेलबाट १० अङ्क जोडेको छ । दिल्ली ६ अङ्कसहित तालिकाको छैटौँ स्थानमा यथावत छ ।