काठमाडौं – साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । हिजो बुधबार उच्च अङ्कले घटेको सेयर बजार आज भने ४ दशमलव ९४ अङ्कले बढेर २३२५ दशमलव ४५ विन्दुमा पुगेर रोकिएको छ ।

बिहीबार बजारमा निकै उतारचढाव देखिए पनि अन्त्यमा बढेर बन्द भएको छ । आज कुल २३१ कम्पनीको ३६ हजार १ सय ९० वटा कारोबार भयो । यसबाट ३९ लाख ९१ हजार ५१ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम भने बिहीबार समेत सुधार हुन सकेन । बिहीबार १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७०९ दशमलव ७० रुपैयाँ पुगेको छ । ग्रीन भेञ्चर लिमिटेडको सेयरमूल्य समेत १० प्रतिशतले बढेर ३६० दशमलव ८० रुपैयाँ पुगेको छ ।

समिट लघुवित्त ७ दशमलव ५९, गणपति लघुवित्त ६ दशमलव ४८, जनउत्थान लघुवित्त ६ दशमलव ०६, युनियन लाइफ इन्स्योरेन्स ४ दशमलव ०४, न्यादी हाइड्रोपावर ४, पञ्चकन्या माइ, साधना लघुवित्त, किसान लघुवित्त र आरएमडीसी लघुवित्तको शेयरमूल्य साढे ३ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार घम्मेदी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा धेरै गुमाए । यस कम्पनीको सेयरमूल्य ६ प्रतिशतले घटेको छ । बिहीबार नेष्डो समृद्ध लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । नबिल बैंकको ५ करोड र सूर्य लाइफ इन्स्योरेन्स साढे ४ करोड बढीको कारोबार भएको छ ।