काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले सहज जित हासिल गरेको छ । बुधबार भएको खेलमा दिल्लीले पञ्जाब किङ्सलाई ९ विकेटले हराएको हो । मुम्बईमा पञ्जाबले जितका लागि दिएको ११६ रनको लक्ष्य पछ्याएको दिल्लीले १० ओभर ३ बलमा एक विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीका डेभिड वार्नरले अविजित ६० रनको अर्धसतकीय पारी खेले । यस्तै पृथ्वी शले ४१ रन बनाउँदा सर्फराज खान १२ रनमाको योगदान गरे । बलिङतर्फ पन्जाबका राहुल चाहरले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा अलआउट हुँदै ११५ रन जोडेको थियो ।

पन्जाबका जितेश शर्माले ३२ रन बनाए । कप्तान मायांक अग्रवालले २४ रनको योगदान गरे । बलिङतर्फ दिल्लीका ललित यादव, खलिल अहमेद, अक्षर पटेल र कुलदिप यादवले २/२ विकेट लिए । जितसँगै दिल्ली छैटौं स्थानमा उक्लिएको छ । दिल्लीले ६ खेलमा ६ अङ्क जोडेको छ । दिल्लीको यो तेस्रो जित हो । पराजित पञ्जाब ७ खेलमा ६ अङ्क जोडेर आठौं स्थानमा छ ।