कर्णाली – जुम्लाका ४१ मतदान केन्द्र अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् । स्थानीय तह चुनाव नजिकिँदै गर्दा जिल्ला सुरक्षा समिति जुम्लाले मतदान केन्द्रको वर्गीकरण गरेको हो ।

अति संवेदनशील, संवेदनशील र सामान्य संवेदनशील मतदान केन्द्रका रूपमा वर्गीकरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार जिल्लाका ६९ मतदान केन्द्रमध्ये ४१ मतदान केन्द्र अति संवेदनशील सूचीमा छन् । संवेदनशील १५ मतदान केन्द्र रहेका छन् । सामान्य मतदान केन्द्र २३ वटा छन् । चन्दले भने, ’०७४ को निर्वाचनको अवस्था हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । भौगोलिक विकटता र यातायातको सहज पहुँच नपुगेको मतदान केन्द्रलाई अति संवेदनशील केन्द्रका रूपमा राखिएको छ ।’

जिल्लाको सडक पुगेको तर पुल नहुँदा सवारी साधन जान नसकेको तिला गाउँपालिकाको मतदान केन्द्रलाई अति संवेदनशील केन्द्रका रूपमा हेरिएको चन्दले जानकारी दिए । त्यहाँ पुग्नका लागि करिब ७ घण्टा लाग्ने अनुमान गरिएको छ । स्थानीय निर्वाचनमा सुरक्षा जनशक्ति अभाव देखिएको छ । म्यादी प्रहरीलाई १० दिनको तालिम दिएर परिचालन गर्ने तयारी भइरहेको छ । जुम्लामा ६६९ म्यादी प्रहरी भर्ना गरिएको छ । सबै मतदान केन्द्रमा प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा रहेको सुरक्षा समितिको टोली पुगेर सुरक्षा चुनौतीको अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिलो स्थानीय निर्वाचन २०७४ मा तीन चरणमा निर्वाचन भएकाले सुरक्षा जनशक्ति परिचालन गर्न सहज भएको थियो । अहिले सबै स्थानीय तहमा एकैपटक चुनाव हुने भएकाले समस्या छ । एकीकृत सुरक्षा योजनानुसार सुरक्षाकर्मी खटाइने भएको छ । केन्द्रसँग पनि जनशक्ति माग भइरहेको छ । निर्वाचनलाई भयरहीत र शान्तिपूर्ण रूपमा अघि बढाउनका लागि जिल्ला सुरक्षा समितिले हरेक विकल्प अपनाउँदै आएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।