काठमाडौं – साताको चौथो दिन आज बुधबार सेयर बजारमा नेप्से परिसूचक दोहोरो अङ्कले गिरावट आएको छ । हिजो मङ्गलबार केही सुधार आएको सेयर बजारमा आज बुधबार भने ३६ दशमलव ७३ अङ्कको गिरावट आएको हो ।

सेयर बजार २३२० दशमलव ५१ विन्दुमा झरेर रोकिएको छ । यो १ दशमलव ५६ प्रतिशतको गिरावट हो । बुधबार कुल २२८ कम्पनीको ३२ हजार ५ सय ६ पटक कारोबार भएको छ । यी कारोबारबाट ३५ लाख ७० हजार १४ कित्ता सेयर किनबेच भएको छ । बुधबार कारोबार रकम १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७ सय ५५ रुपैयाँको भएको छ । बुधबार सबै उपसमूह राताम्य रहे । सबैभन्दा धेरै वित्त र अन्य उपसमुहका लगानीकताले गुमाए ।

बुधबार जाल्पा सामुदायिक लघुवित्त र ग्रीन भेञ्चर लिमिटेडको सकारात्मक सर्किट लेवल (९ दशमलव ९९ प्रतिशत)मा मूल्य बढ्यो । सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समेत ३ दशमलव ०८ प्रतिशतले बढेको छ । यस दिन नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो । हिमालयन उर्जा विकास कम्पनीको मूल्य ६ दशमलव २९ प्रतिशतले घट्यो । नेष्डो सबैभन्दा धेरै कारोबार हुने कम्पनीको पहिलो नम्बरमा रह्यो । सो कम्पनीको १४ करोड १९ लाख ४ सय ७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।