फाइल तस्वीरः गेट्टी इमेज
किभ– युक्रेनको मारिपोल शहरमा रहेको युक्रेनी सुरक्षाकर्मीलाई आत्मसमर्पण गर्न रुसको रक्षा मन्त्रालयले फेरि अल्टिमेटम दिएको छ । उसले युक्रेनी सुरक्षाकर्मीलाई ११ जिएमटी ९नेपाली समय अनुसार बेलुका पौने ५ बजे० सम्म आत्मसमर्पणका लागि समय दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको हो ।

‘मानवीय सिद्धान्तका आधारमा रुसी सशस्त्र बल पुनः प्रस्ताव गर्न चाहन्छ कि युक्रेनी राष्ट्रवादी लडाकु र विदेशी लडाकुले बुधबार दिउँसो २ बजे ९मस्को समय० सम्ममा हतियार बिसाएर आत्मसमर्पण गर्नु होला’ भनि रुसी रक्षा मन्त्रालयको भनाइलाई उद्धृत गरिएको छ ।

यसअघि मङ्गलबार पनि रुसले यस्तै प्रस्ताव गरेको भएता पनि कुनै पनि युक्रेनी सैनिक वा सुरक्षाकर्मीहरुले हतियार बिसाएर आत्मसमर्पण नगरेको रुसी रक्षा मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ । रुसको साथ पाएका लडाकुहरुले मारिपोलको एजोभ्स्ताल स्टिलवर्कमा रहेका युक्रेनी सैनिक र सर्वसाधारणमाथि आक्रमणको प्रयास गरिरहेको समाचारमा जनाइएको छ । त्यहाँ रुसी सैनिक र रुसको समर्थन पाएका लडाकुलाई रोक्न युक्रेनी सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरु सफल भएको दाबी गरिएको छ ।

मारिपोलमा ठूलो संख्या रुसी सैनिक रहे पनि अझैसम्म शहर कब्जा गर्न भने नसकेको मारिपोल नगर परिषदले जनाएको अन्तर्राष्टिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मारिपोलको अवस्था निकै गम्भीर र कठिन रहेको भन्दै दशौँ हजार स्थानीय बासिन्दाको भविष्य अन्यौलमा परेको बताएका छन् ।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ । रुसी आक्रमणमा सुरुदेखि नै मारिपोल शहर प्रमुख निशाना बन्दै आएको छ । रुसले गरेको गोलाबारीका कारण मारिपोल शहर अधिकांश रुपमा ध्वस्त भएको छ । रुसले आक्रमण तीव्र पारेपछि युक्रेनलाई थप हतियार सहयोग गर्ने साझेदार राष्ट्रको बचन दिएका छन् ।