काठमाडौं – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको चुनावी गीत सार्वजनिक भएको छ । सत्ता गठबन्धनको मङ्गलबार बसेको बैठकबाट भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएसँगै दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको हो ।

माओवादीबाट दाहाल पुनः भरतपुरको मेयर उम्मेदवार हुन् । गीतमा मेयर दाहालको अग्रसरतामा भएका विकास निर्माणको कामको चर्चा गरिएको छ । भरतपुरमा चुनाव लड्न आउँदा नयाँ भएपनि छोटो समयमा मेयर दाहालले भरतपुरमा विकास निर्माणलाई तिव्रता दिएको उल्लेख छ ।

विशेषगरी हिल्लामे सडकबाट बनेका चिल्ला सडक, निर्माणाधीन सिटी हल, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, ६ लेन सडक खण्डलाई गीतमा उतारिएको छ । यस गीतको भिडियो नारायणी नदी, प्रचण्ड टोल, क्रिकेट रङ्गशाला लगायत स्थानमा छायाँकन गरिएको हो ।

भिडियोमा स्वयम् मेयर दाहाललाई देख्न सकिन्छ भने विजय पुन, उत्सव अधिकारी, सुनिता तिमिल्सिना, सपना शिवाकोटी लगायतको अभिनय छ । भिडियोलाई रविन्द्र बरालले छायाँकन गरेका हुन् भने चितवनका पत्रकार रवि अधिकारीले निर्देशन गरेका छन् ।

नृत्य निर्देशक रविन शाह हुन् भने भिडियोलाई विष्णु सेवाले सम्पादन गरेका छन् । सन्तोष देउजाको शब्द रहेको यस गीतमा विष्णु खत्री र टिका पुनले स्वर दिएका छन् । गीतमा प्रदिप त्रिपाठीले सङ्गीत भरेका छन् ।