काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि नियमित काममा फर्किने हुनुभएको छ । चैत २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयपछि चैत २५ गतेबाट निलम्बनमा पर्नुभएका अधिकारीलाई सर्वोच्च अदातलले हिजो मङ्गलबारको सुनुवाइ पछि राष्ट्र बैंक फर्किने बाटो खुलाइदिएको हो ।
गभर्नर अधिकारीले सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेशअनुसार आजबाट नियमित काममा फर्किने प्रतिक्रिया दिनुभएको छ । उहाँ १२ दिनपछि आजदेखि कार्यालय जाँदै हुनुहुन्छ । अधिकारीले भन्नुभयो, ’अदालतको आदेशसँगै नियमित काममा फर्कन्छु । राष्ट्र बैंकको उद्देश्य पूर्ति गर्ने गरी काम गर्नेछु ।’
न्यायाधीश हरि फुयालको एकल इजलासले मङ्गलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनू’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । मन्त्रिपरिषद्ले गभर्नर अधिकारीलाई निलम्बन गर्दै पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो । तर, सर्वाेच्चले योसँग सम्बन्धित कुनै पनि निर्णय कार्यान्वयन नगर्न भनेकोले सर्वाेच्चले दुवै पक्षलाई छलफलका लागि १३ वैशाखमा बोलाएको छ ।