काठमाडौं – आज बिहान प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने मुलुकका अन्य पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षा भएको छ । दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

बिहीबार अपराह्न पछाडि देशभर आंशिकदेखि सामान्य बदली रहने आकलन गरिएको छ । गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक र हल्का वर्षाको सम्भावना छ । नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ ।