फाइल तस्वीर
काठमाडौं— सरकारले आजदेखि दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सुरु गर्दैछ । आज र भोलि गरी दुई दिनसम्म राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

देशका सबै ७ सय ५३ स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्ने कार्यक्रमको रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । देशैभरी गरी २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने योजना रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका उमेर समूहका बालबालिकालाई जुकाको औषधि खुवाइने योजना छ । भिटामिन ‘ए’ खुवाउनको लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउने छन् । भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोगविरुद्ध लड्ने क्षमतामा कमी जस्ता समस्या हुन्छन् ।

सरकारले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिमलाई न्यूनीकरण गर्न २०५३ सालबाट भिटामिन ‘ए’ खुवाउँदै आइरहेको छ । जुकाको औषधि भने २०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई खुवाउने गरिंदै आएको छ ।